चार सय पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति पालिका जिते ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्म चार सय बढि पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार ४०८ पालिकाको नतिजा घोषणा भइसकेको छ । जसअनुसार अधिकांश पालिकामा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा भएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा भएको छ ।



एक तिहाई पालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल भएको थियो । गठबन्धन भएका अधिकांश पालिकामा सत्तारुढ दल विजयी भएका छन् । यसले प्रमुख प्रतिपक्षी एमालेलाई धक्का लागेको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेस १८७ पालिकामा विजयी भएको छ । एमाले ११५ पालिकामा विजयी भएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ८२ पालिकामा विजयी भएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी ७ स्थानीय तहमा विजयी भएको छ । जनता समाजवादी पार्टी ५ पालिकामा विजयी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य दल र स्वतन्त्र गरी १२ पालिकामा विजयी भएका छन् ।

७५३ स्थानीय तहमध्ये अधिकांश पालिकाको मत बिहिबार रातिसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । ६ महानगर र ११ उपमहानगरपालिकाको मत परिणाम आउन भने अझै केहि दिन लाग्ने निश्चित छ ।