काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ६ सय ९३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ३ सय ७ पालिका प्रमुख जितेर पहिलो बनेको छ । यस्तै मत गणना भइरहेका २० पालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । यस्तै नेकपा एमाले गतनिर्वाचन भन्दा यो पटक खुम्चिनुपरेको छ ।
गत निर्वाचनको पहिलो पार्टी बनेको एमालेलाई पार्टी विभाजनको असर परेको छ । एमालेले अहिलेसम्म १८८ पालिकाको प्रमुख जितेको छ भने मत गणना भइरहेका १८ पालिकामा अग्रता लिइरहेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेस्रो पार्टी बनेको छ । गत निर्वाचनमा पनि तेस्रो रहेको माओवादीले यो पटक सुधार गरेको छ ।
माओवादीले अहिले सम्म ११९ पालिका प्रमुख जितेको छ भने २ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै अन्य र स्वतन्त्र उम्मेदवारहरुले २७ पालिकामा प्रमुख जितेका छन् भने मत गणना भइरहेका ५ पालिकामा अग्रता लिइरहेका छन् । यता जनता समाजवादी पार्टी, नेपालले २७ पालिका प्रमुख जितेको छ भने ७ पालिकामा अग्रता लिइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले अहिलेसम्म १७ पालिकाको प्रमुख पद जितेको छ भने मतगणना भइरहेको २ पालिकामा अग्रता लिइरहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १० पालिका प्रमुख जितेको छ भने मत गणना भइरहेका ४ पालिकामा अग्रता लिइरहेको छ ।
अब ६० पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । यो नतिजा अनुसार नेपाली कांग्रेसले धेरै स्थानिय तहमा जित हासिल गरेको छ । अब सार्वजनिक हुँन बाँकी पालिका जोड्दा समेत कुनै दलले कांग्रेसलाई भेट्टाउन सक्ने छैनन् । यो निर्वाचनबाट स्थानिय तहको नतिजामा कांग्रेस पहिलो बनेको छ ।