प्रधान सेनापति र लेवनानका राष्ट्रपतिबीच भेटवार्ता

  • प्रकाशित मिति : २०७९ असार ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले बुधबार लेवनानका राष्ट्रपति मिचल ओनसँग शिष्टाचार भेटघाट गरेका छन् । उक्त भेटघाटको क्रममा लेवनानका राष्ट्रपति औनद्वारा नेपाली शान्ति सैनिकहरुको योगदान, विशेषगरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरुले गरेको बलिदानको प्रशंसा गरेका छन्।

साथै, ओनले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको समेत उच्च प्रशंसा गरेका हुन् ।



त्यसैगरी प्रधान सेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेवनानका राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाएको सद्‍भावना सन्देश जानकारी गराएर धन्यवाद व्यक्त गरेका हुन् ।

पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति शर्मा भ्रमणदल सहित आज नै सिरियातर्फ प्रस्थान गरेका हुन् । प्रधान सेनापति शर्माले आजै उक्त मिशनका टिमसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।