काठमाडौं। सरकारले मंसिर चार गते संघ र प्रदेशको निर्वाचन गर्ने तयारी थालेको छ । यसको औपचारिक घोषण हुन बाँकी रहे पनि निर्वाचनको गृहकार्य सुरु भइसकेको नेताहरूले बताएका छन् । संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने गरी तयारी भइरहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
उनले निर्वाचन मंसिर चारमै हुने ठोकुवा गरे । प्रेस यूनियनको पदभार ग्रहण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै नेता महतले यस्तो बताएका हुन् । अब बस्ने मन्त्रीपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने जनाइएको छ ।
आगामी मंसिर चार गतेलाई निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको खबर प्राप्त भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्ने गरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेका आयोगका एक पदाधिकारीले जानकारी दिए ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने गरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।
आयोगले भने यसअघि नै गत २२ असारमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्ने गरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै सोहीअनुसारको समय माग गर्दै आएको छ । प्रधानमन्त्रीलाई सो विषयमा आयोगले ध्यानाकर्षणसमेत गराइसकेको छ । आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ ।
आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन्