काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो।
विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाणले नेपालमा रहेका सबै नेपाली नागरिकलाई अनागरिकबाट नागरिक बनाउन विधेयक ल्याइएको प्रष्ट पारे।
नेपालको राष्ट्रियतालाई बलियो पार्ने सरकारको सदाशयता रहेको जनाउँदै उनले नागरिकता समस्या समाधान गर्नु सबैको साझा दायित्व भएको बताए।
२०६३ को अन्तरिम संविधानमै भएको व्यवस्थाअनुसार २०७२ सालको संविधानमा नागरिकतासम्बन्धी प्रावधान राखिएको र संविधान निर्माण हुँदा सबै दलको सहमति रहेको उनको स्पष्टोक्ति थियो।
“संविधानप्रति हाम्रो प्रतिबद्धता छ, हामीले घोषणा गरेको संविधान नेपालको मूल कानून हो, संविधानसँग बाझिने कानून खारेज हुन्छ भनिएको छ, संविधानसँग बाझिएका कानून बनाउन सकिन्छ र?” उनले प्रश्न गरे, “संविधानमा भएको व्यवस्थाअनुसार नागरिकता प्रदान गर्न सार्थक प्रयत्न गरिएको हो।”