बाबुराम भन्छन् : यो चुनाव मेरा लागि अन्तिम

माओवादीसँग मिलेर वैकल्पिक शक्ति बनाउने

  • प्रकाशित मिति : २०७९ भाद्र २६, आईतवार
  • nepaltale.com

पोखरा । नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’

९ असोज २०७२ मा तत्कालीन नेकपा माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’ घरको संज्ञा दिँदै बाहिरिएका डा. भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे ।

नयाँ शक्ति घोषणा भएको १ वर्षभित्रै २०७४ सालको चुनाव आइहाल्यो । २०७४ को स्थानीय तहको चुनावमा नयाँ शक्तिले अपेक्षित जित निकाल्न नसकेपछि प्रदेश तथा संघको निर्वाचनमा आफूले चुनाव जित्न कांग्रेससँग तालमेल गरे । उनलाई साथ दिने सहकर्मीहरुले पनि छोड्दै गए । नयाँ शक्तिको एजेण्डा जनतामाझ परीक्षण नै हुन नपाईं डा. भट्टराईले आफ्नो लागि कांग्रेसको वैशाखी टेकेर चुनाव लडेको आरोप लाग्यो ।

गोरखा-२ मा माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भए । गण्डकी प्रदेशका गोरखाबाटै एक जना प्रदेश सभा सदस्य प्रत्यक्ष र एक जना समानुपातिक सांसद नयाँ शक्तिबाट बने तर अन्यत्र हार व्यहोर्‍यो । देशलाई समृद्धिको युगमा लैजाने घोषणा गरेको नयाँ शक्ति आफैं गोरखामा मात्र खुम्चियो ।

२०७६ वैशाख २३ गते डा. भट्टराईले नयाँ शक्ति र मधेसकेन्दि्रत दल संघीय समाजवादी फोरमबीच पार्टी एकता भयो । पहिले उपेन्द्र यादव र पछि महन्थ ठाकुरसँग समेत एकता गर्दा बनेको जनता समाजवादी पार्टी पनि पालैपालै फुट्यो । पार्टी एकता गरेर एउटा चुनाव पनि जनतामाझ जान नसकेर डा. भट्टराईले फेरि नयाँ पार्टी नेपाल समाजवादी पार्टी खोलेका छन् र अबको चुनावमा माओवादीसँग मिलेर जाने निर्णय गरिसकेका छन् ।

‘माओवादीबाट किन बाहिरिए, किन नयाँ शक्ति खोले, किन जनता समाजवादीसँग एकता भयो र फेरि किन उही माओवादीसँग मिल्ने हो ? कुनै पनि औचित्य पुष्टि हुन सकेको छैन,’ नेपाल समाजवादी पार्टीकै एक केन्द्रीय सदस्य भन्छन्, ‘डा. भट्टराई आफूलाई मात्र केन्द्रमा राखेर निर्णय गर्छन्, अरुको बारेमा सोच्दैनन् । कतै पार्टी बनाउन नसकेपछि अन्तिम पटक चुनाव जित्न माओवादीको शरणमै आइपुगे ।’-अनलाइन खबर