सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो

  • प्रकाशित मिति : २०८० असार ९, शनिबार
  • नेपाल टेल संवाददाता

तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । इन्जिनियरिङमा अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिए ।

धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उनलाई बगाएको दंगालले जानकारी दिए ।



पाँच जना विद्यार्थी सर्भेमा खटिएका बेला उनलाई बगाएको र खोजी कार्य भइरहेको उनले बताए । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजी कार्य गरिरहेका छन्,’ उनले भने, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’

विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित पक्षले सक्रियता देखाइदिन उनले आग्रह गरे ।