नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका लामो उपचारका क्रममा गए राति निधन भएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्यसमेत ६४ वर्षीय लामाको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
लामा विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी पार्टीको १३ औं जिल्ला अविेशनबाट सभापतिमा निर्वाचित भएका थिए । शान्त, शालीन नेताको रुपमा छवि बनाएका लामा पार्टीको १४ औं महाधिवेशनमा सह महामन्त्रीको प्रत्याशी थिए । उनी शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका थिए ।
लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।
मृतक लामाको अहिले एक श्रीमती दुई छोरा र चार छोरी छन् ।
उनको निधनप्रति कांग्रेस नेता डा शेखर कोइरालाले दु:ख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनले दुःखी बनाएको छ। लामाले कांग्रेस पार्टीको संगठनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधैं ताजै रहिरहने छ,’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शोकाकुल यस समयमा परिवारजनमा हार्दिक समवेदना तथा स्व. लामाप्रति भावपुर्ण श्रद्धाञ्जली।’