पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन् ।
माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराइले सो स्पष्टीकरण दिएका हुन् ।
‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक/राजनीतिक विषयप्रतिको अरूची र अनिच्छा र खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनले भनेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।’