वीर अस्पतालका निर्देशक डा. पौडेलले भने : उपचारका लागि भनसुन गरेर र धनी वर्गले छुट नलिनू

  • प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार
  • nepaltale.com

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भनसुन र दबाब दिएर धनी वर्गले छुट लिन नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनसुन, दबाब दिएर धनी वर्गले छुट सहुलियत लिनु भनेको गरिब, बेवारिस र असहायको अधिकार वा भाग खोस्नु सरह रहेको बताएका हुन् ।

स्वास्थ्योपचारमा दबाब दिएर छुट लिन जानेलाई लक्षित गरी उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘आजै स्वास्थ्य बीमा गरौं , ढुक्कसँग स्वास्थ्योपचार गरौं,’ उनले भनेका छन्, ‘छुट लिने सुविधा छुट पाउन योग्यका लागि मात्र हो तसर्थ आफैँले आफैँलाई गरिब घोषणा नगरौँ ।‘

छुट सहुलियत गरिब, असहाय र विपन्न नागरिकका लागि छुट्टयाइएको सामाजिक न्यायको सिद्धान्त अनुरूपको सरकारी व्यवस्था रहेको उनले बताएका छन् ।

‘हुनेले नहुनेलाई योगदान गर्ने सिद्धान्त हो । उपचारमा भनसुन अनैतिक मात्र हैन, समग्र प्रणाली कमजोर बनाउने घातक हतियार हो,’ उनले अगाडि भनेका छन् ।

उनका अनुसार सहुलियत माग्नु भनेको आफैँले असहाय स्वघोषणा गर्नु हो । वीर अस्पतालले अबदेखि मासिक रूपमा नै छुट लिएका व्यक्तिहरूको विवरण वेबसाइटमा सार्वजनिक गर्दैछ ।

‘ उपचार शुल्क तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि छुट लिएर तपाईं आफूलाई असहाय/विपन्न स्वघोषणा त गरिरहनु भएको छैन?’ उनले प्रश्न गरेका छन् ।