ठोरीमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा

  • प्रकाशित मिति : २०८० भाद्र १६, शनिबार
  • नेपाल टेल संवाददाता

पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटेबाघलाई आज पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए ।



निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो । सोही दिन मृतक दोङको एक गोरुलाई मारेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा आज डार्ट गरिएको अध्यक्ष पाख्रिनले बताए ।

बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।