माटो चोरी प्रकरणः अनुसन्धान सुस्त, भगाइएको एक्साभेटर अझै अज्ञात

  • प्रकाशित मिति : २०८० आश्विन २५, बिहीबार
  • नेपाल टेल संवाददाता

सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ । जीतपुरसिमरा- ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराेडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसन्धान सुस्त देखिएको हो ।

माटो चोरी प्रकरणमा उपमहानगरपालिकाको कार्यालयले हालसम्म संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन भने नियन्त्रणमा राखिएकै समयमा भगाइएको एक्साभेटरको अवस्थाका बारेमा समेत कार्यालय अनविज्ञ छ । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेकै ठाँउबाट सोमबार राति भगाइएको एक्साभेटरको अवस्था बुधवार साँझसम्म पत्ता लाग्न सकेको छैन ।



घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाको कर्मचारीसहितको प्राविधिक टोलीले पहिलो र उपप्रमुख भोलाप्रसाद अधिकारीको टोलीले दोस्रो पटक स्थलगत निरीक्षण गरिसकेका छन् । पहिलो पटक निरीक्षणका लागि पुगेको योजना महाशाखा प्रमुख बालारम खड्का र ईन्जिनियर सञ्जीव रुपाखेतीसहितको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर उपप्रमुख अधिकारीको टोली पुग्दा अज्ञात बनिसकेको थियो ।

कानुनविपरीत काम गरिरहेको अवस्थामा सरकारी टोलीले नियन्त्रणमा लिएको एक्साभेटर राखेकै ठाँउबाट भगाउँदा समेत उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय प्रहरी प्रशासन अनविज्ञ देखिन्छन् । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर रातारात भगाउनुले पनि माटो चोरी प्रकरण शंकास्पद बन्दै गएको छ ।

नम्बरी जग्गाको नाममा सिफारिस लिएर सार्वजनिक जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो चोरी भएको घटनामा उपमहानगरपालिकाले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन । अनुगमनका लागि पुगको सरकारी टोलीले सार्वजनिक जग्गाबाट माटो चोरी भएको निष्कर्ष भने निकालिसकेको छ ।

अनुगमनपछि उपप्रमुख अधिकारी र ईन्जिनियर रुपाखेतीले अनियमित तरिकाले माटो उत्खनन् भएको बताउदै यस विषयमा अनुसन्धान जरुरी रहेको बताएका छन् । यता उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि घटनाको अनुसन्धान भईरहेको बताउछन् ।

‘घटनालगत्तै अनुसन्धानको काम सुरु भईसकेको छ । हामी काम गरिरहेका छौं’ नगर प्रमुख पौडेलले भने ‘अनुसन्धानले दोषी देखाएको सबैलाई कारवाही हुन्छ । हामी बेथितिको अन्त्य गर्छौं । ’ नगर प्रमुख पौडेलले अज्ञात बनाइएको एक्साभेटर खोजीका लागि समेत प्रहरीप्रशासनसंग समन्वय भईरहेको बताए ।