प्रेस टाँसेर कार चलाए, दुर्घटना परेपछि छोडेर भागे

  • प्रकाशित मिति : २०७७ जेष्ठ १, बिहीबार
  • नेपाल टेल संवाददाता

दाङको तुलसीपुर उपमहानगरपालिका-८ अश्वाराको ओह्रालोमा बुधबार बेलुका एउटा प्रेस लेखेको कार दुर्घटना भएको अवस्थामा फेला पर्‍यो।

सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो।



घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो। पत्रकारले जवाफ दिए- तुलसीपुर क्षेत्रमा मात्रै होइन दाङ जिल्लामै रातो कार भएको पत्रकार कोही छैन।

दुर्घटनामा परेको कारमा कोही थिएन। तर लाइट भने बलिरहेकै थियो।

स्थानीयका अनुसार बेलुका साढे ७ बजेतिर बा ११ च ३७०३ नम्बरको कार दुर्घटनामा परेपछि दुई तीन जना मानिस लरखराउँदै निस्किएर भागेका थिए।‘रक्सीले मातेका जस्तै देखिन्थे’ प्रत्यक्षदर्शी एक स्थानीयले भने ‘प्रहरी आउँछ र्‍याकिङ गर्छ भन्दै छिटो उनीहरू कार छोडेर खेतैखेत भागे।’

उनीहरू पश्चिमबाट तुलसीपुर बजारतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिए। प्रहरी बुधबार बेलुका जति प्रयास गर्दा पनि कारमा सवार मानिसहरू को थिए? भन्ने पत्ता लगाउन सकेन। बेलुका अबेर प्रहरीले उक्त कार प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर राख्यो।

कारको नम्बरको आधारमा प्रहरीले अनुसन्धान थाल्यो। बिहीबार बिहान कार कालिका मालिका प्रालिका अध्यक्ष दीलिप बिकले प्रयोग गरेको भन्ने खुल्न आयो।

‘कार कसको हो भन्ने अनुसन्धानकै क्रममा छ,’ इलाका प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले भने ‘दुर्घटना हुनुअघि भने बिकले चलाएको पुष्टि भएको छ।’

बिक फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी योगीले बताए। ‘चालक र त्यसमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको भन्ने स्थानीयले बताएका छन्,’ उनले भने, ‘सायद त्यही त्रासले उनीहरू कार छोडेर भागेको हुनुपर्छ।’-सेतोपाटी