गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल

  • प्रकाशित मिति : २०८० कार्तिक १५, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको महसुस गरेको बताएका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटेरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पाएको बताएका हुन् । उनले वातावरण संरक्षण, जलवायु परिवर्तनलगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए ।



सांसद पौडेलले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरूले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उल्लेख गरे ।

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरूको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाइ छ ।