नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय

  • प्रकाशित मिति : २०८० मंसिर १९, मंगलवार
  • nepaltale.com

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

यसअघि नै धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

१० जेठ २०७७ सालमा जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । दलितले ठकुरीकी छोरीको हात माग्न आएको भन्दै गाउँलेहरूले विकसहित उनका साथीहरूलाई लखेटी लखेटी हत्या गरेका थिए । उक्त घटनामा ६ जनाको हत्या भएको थियो ।

उक्त घटनामा चौरजहारीको सोती गाउँका ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको सजाय मागदाबी गरिएको छ । यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो ।