महासमितिबाट विधान मस्यौदा समिति बनाऔं : शेखर कोइराला

  • प्रकाशित मिति : २०८० फाल्गुन ४, शुक्रबार
  • nepaltale.com

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् ।

विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड रहेको बताउँदै कोइरालाले विधानमा धेरै त्रुटिहरु रहेको पार्टी बैठकमा बताए । ‘जसले गर्दा सांगठनिक गतिबिधिमा बाधा आइरहेको छ । यो महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी छ,’ कोइरालाले भने ।

कोइरालाले केन्द्रीय समिति बैठकमा पेश भएका प्रतिवेदनहरु पार्टीको मौलिकता अनुसारको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिवेदन माथिको छलफलमा बोल्ने क्रममा नेता शेखरले प्रतिवेदनहरु गठबन्धनको छायाँ जस्तो देखिएको बताए ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरु हेर्दा कता–कता गठबन्धनको छाँया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने,‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरु कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार १५ औं महाधिवशेन समयमा हुने सुनिश्चितता हुनुपर्ने कोइरालाले बताए ।

इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न कोइरालाले सुझाव दिए । कांग्रेसकै असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? भनि पार्टीभित्र सुक्ष्म विश्लेषण आवश्यक रहेको कोइरालाले बताए ।

२९ वटा निर्वाचन क्षेत्रमा महासमिति सदस्यहरु चुनिन नसकेकाले टुङ्याउन पार्टी नेतृत्वसँग आग्रह गरे ।