मौद्रिक नीतिमाथि कारागारबाटै दुर्गा प्रसाईंको टिप्पणीः कागलाई बेल पाक्यो…

  • प्रकाशित मिति : २०८२ श्रावण २, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राजावादी व्यवसायी दुर्गा प्रसाईंले कारागारभित्रैबाट मौद्रिक नीतिको आलोचना गरेका छन् । यो मौद्रिक नीतिले सर्वहारा र उत्पीडित वर्गलाई नदेखेको र कागलाई बेल पाकेजस्तै भएको उनको टिप्पणी छ ।

प्रसाईंको आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै मौद्रिक नीतिमाथि टिप्पणी गरिएको हो । प्रसाईंको सचिवालयले उनीसँग गरेको संवादमा यो स्टाटस आधारित भएको बताइएको छ ।



यस्तो छ प्रसाईंको स्टाटसः

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नितिले सर्वहारा वर्ग, भुईँ मान्छे, उत्पीडित वर्ग, गरिबीको रेखा मुनिका नागरिक, बजारमा सटर खोलेर बसेका व्यापारी, नेपाली व्यवसायीहरुलाई देखेन । यो मौद्रिक निती देशमा भएको चरम भ्रष्टाचार, राजनीतिक बेथितिका कारण व्यवसाय बन्द गरी रोजगारीको लागि बिदेशिने युवा युवतीहरु साथै लघुबित्त, सहकारी बैंकबाट कालोसुचिमा परेका र पर्नै लागेका साथै सहकारी र बैंकबाट घर जग्गा लिलाम गरी गराई सडकमा पुर्याईएका नेपालीहरुका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भएको छ ।

केही सिमित शेयर कारोबारी, सिमित दलाल जग्गा कारोबारी र सिमित तस्करहरुलाई खुशी बनाउन ल्याईएको यो मौद्रिक नितिले गरिखाने आम नेपालीहरुलाई सम्बोधन गर्दैन ।

जब सम्म बैंक सहकारीहरुले नेपालीहरुलाई कालो सुची र लिलाम गर्ने काम बन्द गर्दैनन् र युवा पलायन रोकी देशमै रोजगारीको वातावरण बनाउदैनन अझ कहाली लाग्दो नेपालमा आउने निश्चित छ । त्यसैले धैर्य गर्नुहोस सुर्यमा पनि ग्रहण लाग्छ, तर केही समयका लागि मात्र, ग्रहणले छाडेको दिन सुर्यको प्रकाश धर्तिमा पर्नेछ । सत्यको जित पक्का छ ।

कारागारको कालो कोठरीमा पनि मेरो हृदयले सुन्दर नेपालको परिकल्पना गरिरहेको छ, एक दिन पूरा गरेरै छोड्नेछु मेरो सपना ‘नेपालीले भरिएको नेपाल, नेपालीले उद्यम गरेर रमाईरहेको कमाईरहेको नेपाल ।’