कुनै विषयवस्तु राख्नुपर्ने भए पार्टी बैठकमा खुलस्त राख्न ओलीको निर्देशन

  • प्रकाशित मिति : २०८२ श्रावण ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा कुनै मतभेद नभएको भन्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पाटी कार्यालय च्यासलमा सोमबारबाट सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्ति बनाउने गरी मिसन ८४ को तयारी गर्नुपर्ने भएकाले एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।



निर्देशन दिने क्रममा उनले कुनै विषयवस्तु राख्नुपर्ने भए पार्टीको बैठकमा खुलस्त राख्न समेत निर्देशन दिएका ओलीले अहिले एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेकाले यसका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै पार्टी फुटाउने वा विभाजन गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउनका लागि सिङ्गो पङ्क्ति एकताबद्ध भएर लाग्न समेत अध्यक्ष ओलीले अपिल गरेको गौतमले बताए ।

प्रचार विभाग प्रमुख गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा नै अध्यक्ष ओली र भण्डारीबिच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको जिकिर गर्दै त्यस क्रममा खुल्ला र खुलस्त ढङ्गले छलफल भएको र पार्टी सदस्यताका विषयलाई केन्द्रीय कमिटीले निर्णय गरेर अन्तिम टुङ्गो लगाउने ओलीले बैठकमा जानकारी गराएको जनाए ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, सङ्गठनात्मक प्रस्तावको तयारी, विधान महाधिवेशनको व्यवस्थापकीय काम र समसामयिक विविध प्रस्तावहरूमाथि छलफल जारी रहेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

प्रस्तावित विधानका बारेमा सदस्यहरूलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको छ । विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । केन्द्रीय कमिटी बैठकबाट पारित भएपछि विधान संशोधनसम्बन्धी प्रस्तावलाई विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ ।

आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।