काठमाडौँ । प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी परेको छ । साउन ५ मा बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो निर्णय विरुद्ध प्रतिस्पर्धी एसपी बिमल बस्नेतले उजुरी गरेका हुन् ।
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले उजुरी सुन्ने समितिमा उजुरी गरेको बढुवा समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । देश बाहिर रहेका बस्नेले वारेसमार्फत उजुरी पठाएका छन् ।
राष्ट्रिय अनुसन्धानबाट आएका बस्नेत वरीयता सूचिको पहिलो नम्बरमा भए पनि सिफारिसमा छुटेका थिए । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो समय सीमा अझै पुरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधी ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो । एसपी बस्नेतले आफूलाई अन्यायपूर्ण तवरले छुटाइएको जिकिर गरेका छन् ।