विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहमा बुधवार दिउँसो झडपको स्थिति उत्पन्न हुनुमा सुर्तीको विषय भएको खुलेको छ । एक पोका सुर्ती (खैनी) भित्रिएको विषयमा सोधपुछ गर्दा त्यहाँको अवस्था असामान्य बनेको बाल सुधार गृह स्रोतले बताएको छ ।
केही दिनअघि सुधार गृहभित्र सुर्ती छिराएर केही बालकले सुर्ती सेवन गरेको पाइएको थियो । सो विषयमा सोधपुछका लागि सुधार गृह प्रमुख गायत्रीप्रसाद ढकालले ती बालकलाई बोलाएका थिए । तर, सोधपुछकै क्रममा अन्य बाल बिज्याइँकर्ताहरू पनि एकैपटक कार्यकक्षमा प्रवेश गरे । त्यसपछि होहल्ला र आक्रमण सुरु भयो । प्रत्यक्षदर्शीहरूका अनुसार बालबिज्याइँकर्ताहरुले इँटा प्रहार गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।
बाल बिज्याइँकर्ताहरूको आक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक (असई) शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएका छन् । टाउकोमा चोट लागेका मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ भने चौधरीलाई सामान्य चोट लागेको मोरङ प्रहरीले जनाएको छ ।
लगत्तै ३० देखि ५० जना बाल बिज्याइँकर्ताहरू मुख्य गेट तोडेर भाग्ने कोसिस गरेका थिए । यद्यपि तत्कालै त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई घेरा हालेर पुनः सुधार गृहमै फर्काएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समयमै सुरक्षा सतर्कता अपनाइएकाले कोही पनि भाग्न नसकेको र हाल अवस्था नियन्त्रणमा रहेको बताए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनारको नेतृत्वमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपमा उत्रिएकाहरूले सुधार गृहको मेष भवन, सुरक्षा ब्यारेक, कार्यालयका कोठा, झ्यालका सिसा र कुर्सीहरू तोडफोड गरी क्षति पुर्याएका छन् । क्षतिको यकिन विवरण भने संकलनकै क्रममा रहेको छ ।
यो घटना विराटनगर बाल सुधार गृहको पहिलो होइन । यसअघि पनि नाइके र ‘क्याप्टेन’ले नयाँ आउनेहरूलाई दिने यातनाका कारण झडप भएको थियो । जसमा रड र दाउरासमेत प्रयोग हुँदा सात जना घाइते भएका थिए ।
नाम ‘बाल सुधार गृह’ भए पनि यहाँको अवस्था अत्यन्त दयनीय र कारुणिक रहेको यहाँ रहेका बालकहरूको गुनासो छ । ५० जनाको क्षमता भएपनि सुधार गृहमा हाल २४९ जनालाई राखिएको छ । एउटै कोठामा खाँदिएर २५ जनासम्म सुत्नुपर्ने बाध्यता छ ।
गैरसरकारी संस्था सिविन नेपालले हालै गरेको एक अध्ययनले सबै सुधार गृहको अवस्था रुग्ण र कारुणिक रहेको देखाएको छ । सबैभन्दा ठुलो समस्या भनेको १८ वर्षमुनिका बालबालिकासँगै वयस्कहरूलाई पनि राखिनु हो । बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पुगेकाहरूलाई अन्य बालबालिकाबाट अलग राख्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा यो लागू हुन सकेको छैन । विराटनगर सुधार गृहमा रहेका २४९ मध्ये अधिकांश १८ वर्षभन्दा माथिका छन् ।
अदालतको आदेश र वैकल्पिक व्यवस्थाको अभावमा उनीहरूलाई यहीँ राख्न बाध्य भएको सुधार गृह प्रशासनको भनाइ छ ।