फिदिम । पाँचथरको हेंवा खोलामा निर्माण गरिएको ७० मिटर लामो मोडुलर पुल बुधबार उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुप्मा पुल उद्घाटन गरेका हुन् ।
पुल उद्घाटन भएसँगै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका हुँदै ताप्लेजुङसम्म जोडिएको मेची राजमार्गमा सहज आवागमनको बाटो खुलेको छ । पुल सञ्चालनमा आएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूले सुरक्षित ढंगले यातायात सुविधा पाउने भएका छन् ।
विगत तीन वर्षयता हेंवा खोलामा आएको बाढीले पक्की पुल, बेली ब्रिज र डाइभर्सन बगाउँदा आवतजावतमा ठूलो समस्या भएको थियो । बाढी आएको समयमा मेची राजमार्गको यातायात ठप्प हुने स्थिति थियो । बारम्बार पुल बग्दा स्थानीय, यात्रु र व्यापारीले ठूलो आर्थिक र शारीरिक कठिनाइ भोग्नु परेको थियो । यो पुल भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।