सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै पक्षबीच सहमति

  • प्रकाशित मिति : २०८२ भाद्र २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा बिहीबार राति ढिलासम्म भएको छलफलमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै पक्षबीच सहमति भएको छ।

शीतलनिवासमा अहिले पनि वार्ता र छलफल चलिरहेको छ।



राष्ट्रपति पौडेलले यसका लागि एमाले, कांग्रेस र माओवादीका नेताहरूसँग पनि छलफल गरेका थिए।

छलफलमा उनीहरूले पनि जेनजीको भावनाबमोजिम कार्कीलाई अन्तरिम सरकार बनाएर जानसकिने बताएका छन्।

शीतलनिवासमा राष्ट्रपति पौडेल, सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश कार्कीसहित कानुनविद् ओमप्रकाश अर्याल पनि छन्। अर्यालले काठमाडौँ महानगर प्रमुख बालेनको प्रतिनिधित्व गरेका थिए।

जेनजीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेको नाम कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठनलगायतका मागहरूबारे पनि छलफल भएको थियो।