काठमाडौँ। जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू पनि सहमत भए पनि भ्रष्टाचार आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको छ।
तीन प्रमुख दलका नेताहरू खासगरी शीतलनिवासमा नै उपस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमा सम्पर्क गरिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्याधिक बल प्रयोग र ३४ जनाको निधन भएको घटना र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका छन्।
दलहरूले यी उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउने भएकाले गठन गर्न अस्वीकार गरेको उच्च स्रोतले जानकारी दिएको छ।
दलहरूले यो विषय अस्वीकार गरेपछि वार्तास्थलबाट प्रस्तावित प्रधानमन्त्री कार्की जुरुक्क उठेर भनिन्- ‘हाथखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।’
शुक्रबार दिउँसो सरकार गठन प्रक्रियाबारे थप छलफल गर्ने भनिए पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन।