भदौ २४ को आगजनी र तोडफोडमा मुख्यगरी सुकुम्बासी र कैदीबन्दीको संलग्नता रहेको प्रहरी ब्रिफिङ

कडा छानबिन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रकाशित मिति : २०८२ भाद्र २९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गते भएको आगजनी र तोडफोडबाट नेपाल प्रहरीका क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेकी छन्।

शनिबार उनले प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त महाराजगन्जको निरीक्षण गरेकी हुन्।



शनिबारै उनले भदौ २३ गते भएको आन्दोलन क्रममा घाइते भई ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचाररत बिरामीहरूलाई पनि भेटिन्।

दुई दिनको प्रदर्शनमा प्रहरीको मानवीय तथा भौतिक रूपमा ठूलो क्षति भएको छ। तीन जना प्रहरीले ज्यान गुमाएका छन् र कयौं घाइते छने। काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड गरिएको छ।

काठमाडौंको जिल्ला प्रहरी परिसर बाहेक अन्य वृत्तहरूमा धेरै ठूलो क्षति पुगेको छ। क्षतिले प्रहरीको मनोबल घटेको अवस्था छ।

घाइते भएको, बस्ने ठाउँको उपयुक्त स्थान नभएको, पोसाक र हतियार चोरिएको‍ जस्ता कारणले प्रहरीको मनोबल घटेको हो। यो कुरा बुझेर प्रधानमन्त्री कार्की शनिबार नेपाल प्रहरीको क्षतिग्रस्त संरचना निरीक्षण गएको प्रधानमन्त्री निकट स्रोतले बतायो।

‘यसपालिको घटनापछि उहाँहरूको मनोबल साह्रै नै घटेको भनेर प्रधानमन्त्रीजी जानुभएको हो,’ स्रोतले भन्यो।

निरीक्षण क्रममा प्रहरीसँग उनले घटनामा संलग्न व्यक्तिहरूबारे ब्रिफिङ समेत लिएकी थिइन्।

‘प्रहरीबाट मुख्यगरी सुकुम्बासी टोलका, कैदीबन्दीहरू, हिरासतका थुनुवाहरू भागिसकेपछि धेरै क्षति भएको ब्रिफिङ भएको छ,’ स्रोतले भन्यो।

शुक्रबार मात्रै प्रहरीले यसरी संरचनामा आगजनी तथा तोडफोड, लुटपाट, कुटपिट लगायतमा संलग्न व्यक्तिहरूको तस्बिर, भिडिओ माग गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पनि अनुसन्धान गरिरहेको छ।

निरीक्षण क्रममा प्रधानमन्त्री कार्कीले घटनामा संलग्न जोकोहीलाई कडा कारबाही गर्न निर्देशन समेत दिएकी छन्।