काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो । एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ । बाहिर निस्किनासाथ ओलीलाई सुरक्षित बासस्थानमा राख्न निकटस्थहरू खोजीमा जुटेका छन् । एमाले उच्च स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक हुनसक्ने बतायो ।
स्रोतले भन्यो, ‘यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३-४ दिनमा बाहिर आउनुहुन्छ ।’
जेनजी आन्दोलनले देशमा राजनीतिक उथपुथल ल्याएपश्चात एमाले पंतिमा पार्टी पुनर्गठनको बहस छ । तर, नेतृत्व तहमा भने अहिलेसम्म त्यस्को संकेत देखिएको छैन । ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक पनि बसेको छैन । ओलीले आफू बाहिर आएपश्चात मात्रै बैठक बस्ने सन्देश नेताहरुलाई पठाएका छन् । अध्यक्ष पद त्याग्ने कुनै पनि संकेत उनले नगरेको स्रोतको भनाइ छ ।