प्रक्रिया पुर्याएर नेतृत्व छाड्छु : प्रचण्ड

  • प्रकाशित मिति : २०८२ आश्विन ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनलाई समयमैं विवेकपूर्वक सम्वोधन गर्न नसक्दा देश तरल अवस्थामा प्रवेश गरेको बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी गर्दै उनले यो घडीमा लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमीहरुलाई एकताबद्ध हुन अपीलसमेत गरे । भदौ २३ को आन्दोलन र २४ गतेको विध्वंशकारी घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गर्न प्रचण्डले माग गरेका छन् ।



उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । दश वर्षअघि संविधान जारी गर्दा माओवादीले राखेको दश बुँदे फरक मत र अहिले जेन–जीले अघि सारेको एजेण्डा एउटै भएको प्रचण्डको धारणा छ ।

‘त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नुपर्यो, तर, हामीले हाम्रा असहमतिहरुलाई लिखित फरक मतका रुपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं’, उनले भने, ‘अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो, पैसाको खोलो बग्ने र भुइमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीको फरक मतलाई त्यतिबेला स्वीकार गरेर कार्यान्वयन गरिएको भए आजको परिस्थिति अर्कै हुने बताए । उनले भने,‘परम्परागत दलहरुले परिवर्तनको आवाज सुन्न ढिला गर्दा दस वर्ष लामो जनयुद्धमा ठूलो क्षति भयो र अहिले जेन–जी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउन पर्यो ।’

देश र जनताविरुद्ध रचिएका षड्यन्त्र अझै समाप्त नभएको प्रचण्डको ठहर छ । अन्तरिम सरकारलाई असफल बनाउन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास सुरु भएको दावी गर्दै थप्नुभयो, ‘हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।’

पार्टी पुर्नगठनको बहस चलिरहेको पृष्ठभूमिमा प्रचण्डले विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे छलफल भइरहेको पनि जानकारी दिए । ‘हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं, हामीले निश्चित बिधि र प्रक्रियामा नेतृत्व हस्तान्तरण बारे छलफल गरिरहेका छौँ’, उनले भने ।