बडादशैंअन्तर्गत आज (आश्विन शुक्ल षष्ठी) का दिन देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदैछ।
अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। दशैं घर वा पूजा कोठामा आज विधिपूर्वक देवी कात्यायनीको आराधना गरिन्छ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौं दिन कुष्माण्डा र हिजो स्कन्दमाताको पूजा सम्पन्न भएको थियो।
नवरात्र भनिने दुर्गा आराधनाको पर्व यस वर्ष १० रात ११ दिनको छ। यस अवधिमा गरिने पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा छ।
देशभरका शक्तिपीठहरूमा नवरात्रका दिनहरूमा पूजाआराधना र दर्शन गर्न भक्तजनको भीड लाग्ने चलन रहिआएको छ।