आज आश्विन शुक्ल नवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

  • प्रकाशित मिति : २०८२ आश्विन १५, बुधबार
  • नेपाल टेल संवाददाता

आश्विन शुक्ल नवमीका दिन आज दशैँघर र पूजाकोठामा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। प्रत्येक वर्ष नवरात्रको अन्तिम दिन यो देवीको विशेष आराधना गर्ने वैदिक परम्परा रहेको छ।

मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले उनी सिद्धिदायिनी नामले पनि परिचित छिन्। धार्मिक विश्वासअनुसार सिद्धिदात्री देवीको आराधनाले मनोकामना पूरा हुन्छ।



यसअघि घटस्थापनादेखि आजसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजाआराधना सम्पन्न भइसकेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आजको दिनमा सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरी नौ दिनको नवरात्र सम्पन्न गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने प्रचलन छ। यस आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रमा गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा छ। यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार पर्छ, जसमा बिहान ११:५३ बजे टीका लगाउने साइत उत्तम मानिएको छ।

महानवमीका दिन काठमाडौंसहित देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। घरघरमा पनि बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरी आजको दिनलाई विशेष रूपमा मनाइँदैछ।