पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

  • प्रकाशित मिति : २०८२ आश्विन २९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पूर्पक्षमा जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।



अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ । दुवैबीचको मिलेमतोमा इ–सिगरेट ९भेप० मार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ ।

प्रमाण अनुसार, महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महरा को मोबाइल नम्बरबाट समेत दावजिन वाङसँग पटक-पटक कुराकानी भएको भेटिएको छ। महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ ।

भन्सार कार्यालयले २०७९ फागुन २१ गते इ–सिगरेट ७३० थान जफत गरेको थियो, जसको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तर उक्त इ–सिगरेटको आवरणमा करिब ९.५ किलो सुन लुकाइएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, २०८० को प्रतिवेदन, प्रहरीले बुझाएको प्रतिवेदन, मोबाइल कल डिटेल र प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणका रूपमा पेश गरिएको छ ।

छानबिनका क्रममा अभियुक्त दिनेश बस्नेतले उक्त इ-सिगरेटभित्रको सुन ६ करोड रुपैयाँमा व्यापारी वेदप्रकाश अग्रवाललाई बिक्री गरेको बयान दिएका छन् । अग्रवाल र अन्य व्यक्तिका बयानले पनि आरोप पुष्टि गर्ने आधार बनेको छ ।

अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अदालतको आदेशसँगै महरालाई जगतनाथदेवल कारागार पठाएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।