प्रधानमन्त्री सुशीला कार्कीले हमासद्वारा हत्या गरिएका नेपाली युवक विपिन जोशीको बलिदान र साहसलाई राष्ट्रले कहिल्यै नबिर्सने बताएकी छिन्।
बुधबार जारी शोक सन्देशमा उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबरले आफू स्तब्ध बनेको बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।’
उनका अनुसार विपिन केवल विद्यार्थी मात्र नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि थिए। ‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो। उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले विपिन सदा शान्तिप्रेमी नेपालको सन्तान भएर पनि अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको उल्लेख गरिन्। उनले थपिन्, ‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ। उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ।’