हमासले बन्धक बनाएका विपिन जोशीको शव आज स्वदेश आइपुग्दै

  • प्रकाशित मिति : २०८२ कार्तिक ३, सोमबार
  • नेपाल टेल संवाददाता

हमासद्वारा बन्धक बनाइएका बेला मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज (सोमबार) दिउँसो नेपाल ल्याइँदै छ। सरकारका अनुसार उनको शव दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ विपिनको शव ग्रहण र श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

मन्त्री घिसिङले भनेका छन्, “यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु। अन्तिम क्षणमा पनि उहाँले देखाउनुभएको साहस र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिन नेपाली गौरवको प्रतीकका रूपमा सधैं जीवित रहनुहुनेछ।”



परराष्ट्र मन्त्रालयका अनुसार काठमाडौँ आइपुगेपछि विपिनको शव नेपाली सेनाको संयोजनमा कञ्चनपुरस्थित घरसम्म पुर्‍याइनेछ।

शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारका प्रतिनिधि, तेल अविभस्थित नेपाली दूतावासका अधिकारी, इजरायलमा कार्यरत नेपाली समुदायका सदस्य र बन्धक परिवारका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रम तेल अविभस्थित बेन गुरिओन विमानस्थलमा सम्पन्न भएको थियो।

कञ्चनपुर भीमदत्त नगरपालिका–३ भाँसीका बासिन्दा जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ विद्यार्थी मध्ये एक थिए, जो २०८० भदौ अन्त्यतिर इजरायल पुगेका थिए।

गत वर्ष २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन बन्धक बनाइएका थिए। साथीहरूलाई जोगाउने क्रममा विपिनले अपूर्व साहस प्रदर्शन गरेका थिए। पछि उनी गाजामा बन्धककै अवस्थामा मारिएका थिए। विपिनको मृत्यु पुष्टि भएसँगै हमास आक्रमणमा ज्यान गुमाउने नेपाली विद्यार्थीको संख्या ११ पुगेको छ।