नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जा मन्त्री दीपक खड्काले सरकारसँग नडराउने र आफू भागेको होइन भन्ने स्पष्ट पारेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नो जलेको निवास परिसरमै पत्रकार सम्मेलन गर्दै उनले भने, “सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म भागे भन्न मिल्छ? झिनामसिना कुराले मलाई छुँदैन, म डराउँदिनँ।”
खड्काले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफू घरमै रहेको बताए। उनले आन्दोलनकारीहरूले घरमा ढोका हान्न थालेपछि खाना खान समेत नपाएको स्मरण गरे।
उनका शब्दमा, “आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो। २४ गते म घरमै थिएँ, खाना खाँदै थिएँ। घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ। अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो।”
उनका अनुसार त्यसपछि उनी छिमेकीकोमा बसेका र राति नेपाली सेनाको ब्यारेकमा शरण लिएका थिए। “म छिमेकीकोमा बसें, राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो। त्यसपछि तराईतिर तीन–चार दिन बसें,” उनले बताए।
खड्काले तराईमा केही दिन बसेपछि डेङ्गु रोगका कारण उपचारका लागि भारत गएको जानकारी दिए। “बिरामी भएपछि उपचारका लागि भारत गएँ। डेङ्गु भएछ। त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट पनि भयो,” उनले भने। उनका अनुसार उनी, श्रीमती र बच्चा तीनै जना बिरामी परेका थिए।
राजनीतिक प्रश्नमा प्रत्यक्ष प्रतिक्रिया नदिने बताउँदै उनले भने, “अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व छ। यो सरकारको विषयमा टिकाटिप्पणी छैन। परिस्थितिजन्य सिर्जित सरकार हो। मुलुकको जिम्मा राजनीतिक दल र नागरिकहरूले लिनुपर्छ।”