प्रतिनिधिसभा निर्वाचन निष्पक्षरूपमा सम्पन्न गराउने सरकारको प्रतिबद्धता : प्रधानमन्त्री कार्की

  • प्रकाशित मिति : २०८२ कार्तिक ५, बुधबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, समुदाय र वर्गको सहयोग अपरिहार्य रहेको बताइन् ।



प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । संविधानले तोकेको दायित्वअनुसार सरकार लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्दै नेपाली जनतालाई भयरहित ढंगले मताधिकार प्रयोग गर्न सक्षम बनाउने लक्ष्यमा अग्रसर छ ।’

उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशव्यापी प्रदर्शनमा कलिला युवाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण ढंगले उठाइएका आवाजहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

नेपाल राष्ट्र बैंकद्वारा जारी हुने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाइने प्रधानमन्त्री कार्कीले बताइन् । सरकारी कागजातमा नेपाल संवत् लेख्ने निर्णयले यस संवत्को संवद्र्धन र व्यावहारिक प्रयोगप्रति सरकार गम्भीर रहेको स्पष्ट भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले नेपाल संवत् कार्यान्वयनको प्रभावकारी अनुगमनका लागि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने र प्रतिष्ठानसँग सहकार्य गर्ने प्रतिवद्धता जनाइन् ।

शङ्खधर साख्वाःले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्ने दिशामा देखाएको मार्ग आज पनि प्रेरणादायी रहेको उल्लेख गर्दै उनले भनिन्, ‘व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गर्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरिन् । कार्यक्रममा संस्कृतिविद् छत्रबहादुर कायस्थ र नेपाः पासा पुचः अमेरिकालाई शङ्खधर सिरपाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षहरू श्यामकृष्ण मानन्धर र मदनकृष्ण श्रेष्ठलगायत वक्ताहरूले नेपाल संवत् सम्बन्धी अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।