सन् २०२५ मा विश्वका धेरै भागहरूमा युद्ध चलिरहेका छन् । सीमाको सुरक्षा बढाइँदैछ र देशहरूबीच व्यापारिक तनाव बढिरहेको छ । त्यही बेला केही देशहरू यस्ता पनि छन् जसले अझै पनि शान्तिको झण्डा उचालिरहेका छन्।
२०२५ को ग्लोबल पिस इन्डेक्स (जीपीआई) प्रतिवेदन अनुसार, विश्वमा देशहरूबीचको द्वन्द्वहरूको संख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै पुगेको छ।
यस वर्ष तीनवटा नयाँ संघर्ष सुरु भएका छन् । त्यसपछि धेरै देशहरूले आफ्नो सैन्य शक्ति बढाउनेतर्फ ध्यान दिएका छन् ।
यो प्रतिवेदन इन्स्टिच्युट फर इकनमिक्स एन्ड पिसले तयार गर्छ । यसमा देशहरूको मूल्याङ्कन २३ फरक–फरक मापदण्डका आधारमा गरिन्छ ।
यी मापदण्डमा बाह्य झगडा, रक्षा खर्च, आन्तरिक सुरक्षा र आतंकवादको अवस्था जस्ता कारकहरू समावेश छन् ।
यस सूचीमा लगातार शीर्षमा रहेका देशहरू झण्डै २० वर्षदेखि आफ्ना नीतिहरूमा स्थिरता कायम गरिरहेका छन् । यसले यदि कुनै देशका नीतिहरू शान्तिपूर्ण र स्थिर छन् भने त्यो देश दीर्घकालीन रूपमा सुरक्षित रहन सक्छ भन्ने देखाउँछ ।
हामीले विश्वका सबैभन्दा शान्तिप्रिय देशका नागरिकहरूसँग कुरा गरेका छौं, यसबाट बुझ्न सकियोस्- तिनका सरकारका नीतिहरू र सामाजिक मूल्यहरूले उनीहरूको दैनिक जीवनमा शान्ति र सुरक्षाको भावना कसरी प्रभाव पार्छ।
आइसल्यान्ड

सन् २००८ देखि अहिलेसम्म आइसल्यान्ड विश्वको सबैभन्दा शान्तिप्रिय देश बनेको छ।
सुरक्षा, संघर्ष र सैन्य शक्तिको मामिलामा यो सधैं अग्रणी रहन्छ । यस वर्ष यसमा दुई प्रतिशत सुधार भएको छ, जसले गर्दा यो अरू देशहरूभन्दा अझ अघि गएको छ।
यहाँ सुरक्षाको र आपसी विश्वासको भावना मानिसहरूको दैनिक जीवनकै हिस्सा बनेको छ।
इन्ट्रेपिड ट्राभल नर्थ युरोपकी जनरल म्यानेजर इङ्गा रोस एन्तोनियुसदोत्तिर भन्छिन्, ‘जाडो मौसम कहिलेकाहीँ कठिन हुन्छ । तर मानिसहरूबीचको अपनापन नै वास्तविक सुरक्षा हो । यहाँ तपाईं रातमा एक्लै हिँड्न सक्नुहुन्छ, डर लाग्दैन । क्याफे र पसलहरूको बाहिर बच्चाहरू आफ्ना गाडीमा आरामसँग सुतिरहेका हुन्छन्, जब कि तिनका आमाबुबा नजिकै खाना खाइरहेका वा काम सकाइरहेका हुन्छन्। यहाँका प्रहरीले त बन्दुक पनि बोक्दैनन् ।’
इङ्गा देशका लैङ्गिक समानताका नीतिहरूले महिलाहरूलाई सुरक्षित र आत्मविश्वासी बनाएको बताउँछिन् ।
‘समान अवसर र सबल सामाजिक व्यवस्था समाजलाई सबैका लागि राम्रो र सुरक्षित बनाउँछ’ उनले भन्छिन् ।
इङ्गा यदि तपाईं आइसल्यान्डको शान्ति महसुस गर्न चाहनुहुन्छ भने, स्थानीयहरूजस्तै यहाँको जीवन जिउनुहोस् भन्ने सल्लाह दिन्छिन् ।
‘तातो पानीको पोखरीमा पौडी खेल्नुहोस्, हट टबमा अनजान मानिसहरूसँग कुरा गर्नुहोस् वा कुनै पहाडमा चढाइ गर्नुहोस् । वास्तविक आइसल्यान्ड तपाईंलाई यहाँको संगीत, कला र हरेक ऋतुमा बदलिने प्रकृतिमा भेटिन्छ,’ उनले भनिन् ।
आयरल्यान्ड

बीसौं शताब्दीको अन्त्यमा संघर्षबाट गुज्रिए पनि आज आयरल्यान्ड शान्ति र स्थिरताको प्रतीक मानिन्छ ।
यो देशले प्रत्येक वर्ष सैन्यीकरणमा कमी र कुनै पनि किसिमको टकरावमा गिरावटका कारण उच्च अंक प्राप्त गर्छ । सामाजिक सुरक्षा र अपराध नियन्त्रणका मामिलामा पनि यो विश्वका १० सबैभन्दा सुरक्षित देशहरूमा पर्छ ।
किल्डेयरका बासिन्दा र किल्किया क्यासलका “डाइरेक्टर अफ एक्सपिरियन्स” ज्याक फिट्जसिमन्स भन्छन्, ‘यहाँका मानिसहरू साँच्चै एक–अर्काको हेरचाह गर्छन्। यदि तपाईं कुनै अपरिचित व्यक्तिसँग मद्दत माग्नुभयो भने, उसले तपाईंलाई सहयोग गर्न सकेसम्म प्रयास गर्छ।’
उनी भन्छन्, ‘यहाँको मैत्रीपूर्ण संस्कृति र सामुदायिक भावनाले सबैलाई अपनापन महसुस गराउँछ, तपाईं सानो गाउँमा हुनुहोस् वा ठूलो सहरमा। यहाँको सबल सामाजिक संरचना र सामुदायिक कल्याणप्रतिको ध्यानले असमानता र तनाव दुवै घटाएका छन्।’
अन्तर्राष्ट्रिय स्तरमा आयरल्यान्डले सैन्य तटस्थताको नीति अपनाएको छ। यही कारणले यो नेटोको हिस्सा होइन।
यहाँ विवादहरूलाई संवाद र कूटनीतिक उपायमार्फत समाधान गर्न प्राथमिकता दिइन्छ। देशले आफ्नो प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिन्छ र पर्यटकहरूलाई सधैं न्यानो स्वागत गर्छ।
फिट्जसिमन्स भन्छन्, ‘हाम्रो यहाँ आतिथ्य संस्कृति नै हो। विदेशी पाहुनाप्रति हाम्रो स्वाभाविक मेहमाननवाजीले उनीहरूलाई सधैं प्रभावित गर्छ।’
उनी भन्छन्, ‘यहाँ जीवनको गति केही ढिलो छ। मानिसहरू आज पनि कुराकानी र कथा सुनाउने परम्परालाई महत्त्व दिन्छन्। तपाईं कहिल्यै पनि कुनै किल्ला, शान्त जंगल वा सानो पबमा बज्ने परम्परागत संगीतबाट टाढा हुनुहुन्न। यही अपनापन र सुकूनले आयरल्यान्डलाई विशेष बनाउँछ।’
न्युजिल्यान्ड

यस वर्ष न्युजिल्यान्ड दुई स्थान माथि उठ्दै विश्वको तेस्रो सबैभन्दा सुरक्षित देश बनेको छ। सुरक्षा र शान्तिको क्षेत्रमा सुधार, साथै प्रदर्शन र आतंकवादसँग सम्बन्धित घटनामा कमी यसको मुख्य कारण हो।
प्रशान्त महासागरमा अवस्थित यो सुन्दर द्वीपीय देश भौगोलिक रूपमा बाह्य द्वन्द्वबाट सुरक्षित छ। यसको आन्तरिक नीतिहरूले नागरिकहरूमा स्थिरता र विश्वासको भावना उत्पन्न गर्छ।
ग्रीनर पास्चर्स फर्मकी निर्देशक मिशा म्यानिक्स–ओपी भन्छिन्, ‘न्युजिल्यान्डका हतियार सम्बन्धी कानुन विश्वका सबैभन्दा कडा कानुनहरूमा पर्छन्, र यही कुराले मानिसहरूमा सुरक्षाको भावना मजबुत बनाएको छ।’
उनी बताउँछिन्, ‘यहाँ बच्चाहरू एक्लै पैदल विद्यालय जान्छन्। मानिसहरू आफ्ना घरका ढोका खुला छोड्छन्, र बाटोमा कसैको गाडी बिग्रिएको देखेमा यात्रुहरू आफैं रोकिएर सहयोग गर्छन्। यहाँ मानिसहरूलाई प्रणालीमा र एक–अर्कामा पूरा भरोसा छ।’
म्यानिक्स–ओपी भन्छिन्, ‘यहाँको सामाजिक सुरक्षा, स्वास्थ्य सेवा मात्र होइन, प्रकृतिसँगको सम्बन्ध पनि मानिसहरूको जीवनको महत्वपूर्ण हिस्सा हो। मानिसहरू समुद्र किनारमा हिँड्छन्, जंगलमा पैदल यात्रा गर्छन् वा तारामुनि बसेर शान्ति महसुस गर्छन्।’
उनी भन्छिन्, ‘पोस्टकार्डजस्ता सुन्दर दृश्यहरूभन्दा पर, न्युजिल्यान्डको वास्तविक सुन्दरता यहाँका मानिसहरूमा छ। माओरी संस्कृति आज पनि जीवित छ, र जीवनको धीमी, सन्तुलित गति मानिसहरूको सोच्ने दृष्टिकोण नै बदलिदिन्छ।’
अस्ट्रिया

ग्लोबल पिस इन्डेक्समा यस वर्ष अस्ट्रिया एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको छ, तर सुरक्षा, संघर्ष र सैन्यीकरणका मामिलामा अझै पनि मजबूतीका साथ आफ्नो स्थान कायम राखेको छ।
आयरल्यान्डझैं अस्ट्रिया पनि संवैधानिक रूपमा तटस्थ देश हो । यही नीतिका कारण यो नेटोजस्ता सैन्य गठबन्धनहरूबाट टाढा रहन्छ। अस्ट्रिया आफ्ना ऊर्जा र स्रोत आन्तरिक विकासमा केन्द्रित गर्छ।
एसपीए होटल जागधोफका मालिक आर्मिन फुर्चट्शेलर भन्छन्, ‘अस्ट्रियाको पुरानो तटस्थता नीतिको अर्थ हो कि देश संघर्षमा उल्झिँदैन, बरु आफ्ना नागरिकहरूमा लगानी गर्छ। यहाँ सबल सामाजिक ढाँचा, राम्रो स्वास्थ्य सेवा र उच्चस्तरीय शिक्षा प्रणालीले मानिसहरूमा स्थिरता र विश्वास जगाएको छ।’
स्टुबाई घाटीको न्यूस्टिफ्टमा बस्ने फुर्चट्शेलर भन्छन्, ‘यहाँ मानिसहरू मध्यरातमा नदी किनारमा हिँड्छन्, घरका ढोका खुला रहन्छन्, र क्याफे बाहिर साइकलहरू ताला नलगाई पार्क गरिएका हुन्छन्। यहाँ सुरक्षा केवल आँकडा होइन, जीवनको अनुभव हो।’
उनी भन्छन्, ‘यहाँ आउने मानिसहरू केही दिनमै तनावमुक्त हुन्छन्। सुकूनका साथ सुत्छन् र प्रकृतिसँग जोडिन्छन्। यही हो यो स्थानको वास्तविक सुरक्षा, जहाँ मानिसले आफूलाई पूर्ण रूपमा महसुस गर्न सक्छ।’
सिङ्गापुर

सिङ्गापुरले यस वर्ष पनि छैठौं स्थान कायम राखेको छ र यो शीर्ष १० मा पर्ने एक मात्र एशियाली देश हो। जापान बारौं र मलेसिया तेह्रौं स्थानमा छन्।
सुरक्षा र व्यवस्थाको मामिलामा सिङ्गापुर विश्वका अग्रणी देशहरूमा पर्छ। यहाँ प्रति व्यक्ति रक्षा खर्च निकै उच्च छ — केवल उत्तर कोरिया र कतार मात्र यसभन्दा अघि छन्।
यहाँ द्वन्द्वहरू लगभग शून्य छन् र सबल आन्तरिक सुरक्षाले मानिसहरूमा गहिरो शान्ति र विश्वासको भावना पैदा गरेको छ।
स्थानीय निवासी शिनरन हान भन्छन्, ‘म ढिलो रातमा पैदल निस्कन्छु र मलाई कुनै डर लाग्दैन। घर फर्किँदा पनि त्यो तनाव महसुस हुँदैन, जसरी धेरै ठूला सहरहरूमा हुन्छ।’
उनी भन्छन्, ‘यहाँका मानिसहरूलाई प्रणालीमाथि पूर्ण विश्वास छ, जसले एक शान्त, हेरचाह गर्ने र सुकून दिने वातावरण बनाएको छ।’
यद्यपि एलजीबीटी अधिकारका मामिलामा सिङ्गापुरको दृष्टिकोण अझै परम्परागत छ र समलिंगी विवाहमा प्रतिबन्ध कायम छ, समाज परिवर्तनको दिशामा अघि बढिरहेको देखिन्छ।
पिंक डट प्राइड फेस्टिभलजस्ता कार्यक्रमहरू अहिले पहिलाभन्दा धेरै ठूला र सुरक्षित वातावरणमा आयोजना भइरहेका छन्।
यस वर्षको र्यालीमा मानिसहरूले अघिल्लो वर्षहरूभन्दा धेरै सुरक्षित महसुस गरेका छन् किनभने युवा सिङ्गापुरीहरूले समाजमा स्वीकृति बढाउने दिशामा प्रगति गरिरहेका छन्।
हान आगन्तुकहरूलाई सल्लाह दिन्छन् कि उनीहरूले यहाँको सुरक्षाबाट आउने स्वतन्त्रताको पूरा आनन्द लिनुपर्छ।
उनी भन्छन्, ‘बिहान दुई बजे नदी किनारमा हिँड्नुहोस्, ढिलो रात सडकको खाना खानुहोस् वा पार्कमा सयर गर्नुहोस्- यहाँ सबै कुरा धेरै स्वतन्त्र र निश्चिन्त महसुस हुन्छ, तपाईं स्थानीय हुनुहोस् वा पर्यटक ।’