कसैले धूप हाल्दैमा कांग्रेस फुट्दैन: महामन्त्री विश्वप्रकाश शर्मा

  • प्रकाशित मिति : २०८२ कार्तिक ११, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र फरक मत आउनु स्वाभाविक कुरा भएको बताएका छन्। उनले आन्तरिक छलफलका क्रममा मतभेद आउनुलाई अनावश्यक रूपमा प्रचारको विषय नबनाउन आग्रह गरे।

आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले भने, “फरक मत आउनु कांग्रेसको परम्परागत लोकतान्त्रिक अभ्यास हो। कांग्रेसले सहज छलफलमार्फत निष्कर्षमा पुग्छ। कांग्रेस फुट्छ भनेर कसैले सोच्नै पर्दैन। म व्यक्तिगत रूपमा होइन, कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु — कांग्रेस एकढिक्का रहन्छ।”



उनले बदलिँदो परिस्थितिअनुसार कांग्रेसले आफूलाई परिमार्जन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने पनि बताए।

केन्द्रीय समिति बैठक जारी रहेका बेला विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएको विषय गम्भीर रहेको बताउँदै उनले त्यसलाई बेवास्ता गर्न नमिल्ने टिप्पणी गरे।

शर्माले थपे, “केन्द्रीय समितिले हस्ताक्षर र आम निर्वाचन दुबैलाई ध्यानमा राख्नुपर्छ। राष्ट्रिय आवश्यकतालाई बुझेर कांग्रेस एक भएर अघि बढ्नुपर्छ। त्यसैले अहिलेको बैठकमा हतार नगरी समय लगाएर गम्भीर छलफल भइरहेको छ।”