बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबार दिउँसोदेखि देखिन सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज जारी गरिएको विशेष बुलेटिनमा विभागले चक्रवात ‘मोन्था’ को असर तीन दिनसम्म रहने उल्लेख गरेको छ।
विभागका अनुसार चक्रवात ‘मोन्था’ आज (मंगलबार) राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ। त्यसपछि यो क्रमशः कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भाग नजिक आइ पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित गर्ने देखिएको छ।
वर्षा र हिमपातको सम्भावना
चक्रवातको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र गण्डकी प्रदेशका हिमाली भू–भागमा मध्यम हिमपातको सम्भावना छ।
यस्तै, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
नदीमा बहाव बढ्ने चेतावनी
विभागले चक्रवातको प्रभावका कारण मधेश र कोशी प्रदेशमा बाढीको जोखिम बढ्ने चेतावनी दिएको छ।
बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तह नजिक पुग्ने सम्भावना रहेको विभागले जनाएको छ।
साथै, महाभारत र चुरे हुँदै बग्ने साना नदी–नालाहरूमा पनि आकस्मिक बहाव हुन सक्ने उल्लेख गरिएको छ।
विशेष रूपमा जोखिमयुक्त जिल्ला —
बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली
मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा
कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी
विभागको अपिल
संभावित वर्षा र हिमपातका कारण नदीमा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम रहेकोले विभागले सबै निकाय र आम जनतालाई सतर्क रहन आग्रह गरेको छ।
विभागले वेभसाइट, सामाजिक सञ्जाल, र टोल–फ्री नम्बर ९११५५० लगायतका माध्यमबाट अद्यावधिक सूचना निरन्तर सार्वजनिक गर्ने जनाएको छ।