लन्डन दूतावासमा तत्काल राजदूत नआउने, दुवाडीलाई कार्यवाहकको जिम्मेवारी

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतस्थित नेपाली दूतावासमा तत्काल राजदूत नपठाइने भएको छ। नेपाल सरकारले फिर्ता बोलाएका ११ राजदूतको स्थानमा सम्बन्धित दूतावासका उपल्लो तहका कर्मचारीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार राजदूत रिक्त भएमा सम्बन्धित दूतावासका वरिष्ठ कर्मचारीले स्वतः कार्यवाहक राजदूतको जिम्मेवारी लिने प्रचलन छ।



लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्। उनले गत वर्ष सेप्टेम्बर २०२४ देखि जनवरी २०२५ सम्म पनि नेपाली दूतावास लण्डनमा कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट बनेका विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै लन्डनस्थित नेपाली राजदूतावास पनि राजदूतविहीन बन्ने भएको हो।

संसद नभएको अवस्थामा कानुनी प्रक्रिया जटिल हुन सक्ने देखिएकाले सरकार तत्काल नयाँ राजदूत पठाउने मनस्थितिमा छैन् ।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, रुस, कतार, साउदी अरब, स्पेन, इजरायल र मलेसियामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार तीमध्ये केही राजदूत नेपाल फर्किसकेका छन् भने बाँकी कात्तिक २० गतेभित्र फर्किनुपर्ने छ।