चक्रवात ‘मोन्था’को प्रभावले देशभर वर्षा–हिमपात, साँझदेखि मौसममा सुधार हुने

  • प्रकाशित मिति : २०८२ कार्तिक १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।



आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, मधेस र वाग्मती प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुन सक्ने चेतावनी दिएको छ।

भारी वर्षा र हिमपात हुने सम्भावना भएकाले सर्वसाधारण, किसान र यात्रुहरूलाई सतर्क रहन तथा सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।