मनास्लु क्षेत्रमा विदेशी पर्यटकमाथि खस्यो पहिरो, उद्धारमा कठिनाइ

  • प्रकाशित मिति : २०८२ कार्तिक १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटकमाथि पहिरो खसेको छ ।

गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन् ।



उनका गाइड रमेश भट्टले दिएको जानकारी अनुसार न्याक फेदीभन्दा केहीमाथि भिरमा शुक्रबार दिउँसो २ बजेतिर रस्कोभामाथि पहिरो खसेको हो ।

उनका श्रीमान् र गाइड भट्ट भने सकुशल नै रहेको उनले बताए ।

उनीहरू काठमाडौंको नेपाल निर्भाना ट्रेल्समार्फत् ३० असोजमा मनास्लु पदमार्ग हुँदै लार्के गएका थिए । तर प्रतिकूल मौसमका कारण उनीहरू लार्के पास नपुगे १२ कात्तिकमा सामागाउँबाट फिर्ता भएका थिए ।

सामागाउँबाट फर्किरहेको समयमा बाटोमाथिबाट एक्कासि ढुंगा-माटोसहितको लेदो क्याटरिनामाथि खसेको डीएसपी श्रेष्ठले बताए ।

घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी चौकी सिर्दिवासबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको भए पनि ठाउँ ठाउँमा पहिरो खसेका कारण उद्धारमा कठिनाइ भइरहेको डीएसपी श्रेष्ठले बताए ।

उनले भने, ‘घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । तर घटनास्थलभन्दा २० मिनेटको दूरी यता नै पहिरो र ढुंगा खसिरहेका कारण उद्धार टोली घटना स्थल पुग्न सकेको छैन । जसका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।