भोलिदेखि मौसममा सुधार हुने

  • प्रकाशित मिति : २०८२ कार्तिक १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

भोलिदेखि देशभर मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेका बेला भोलिदेखि सामान्यतया मौसम सुख्खा हुँदै जाने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले जारी गरेको तीनदिने मौसम बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। राति कोशी र मधेशका केही भागमा ठूलो पानी परेको छ। मोरङ, सप्तरी र झापामा सबैभन्दा बढी पानी परेको महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपात भइरहेको छ।



भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा हुने अपेक्षा गरिएको छ। बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुने अनुमान गरिएको छ। पर्सि भने कोशी, बागमती र गण्डकीका केही पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ।