एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा जेल चलान

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

नेकपा (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै डिल्लीबजार कारागार चलान गरिएको छ।

बुधबार अदालतले फैसला कार्यान्वयनका लागि उनलाई उपस्थित गराएपछि कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।



शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो। अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको हो।

यसअघि उक्त मुद्दाबारे एमाले सचिवालय बैठकमा पनि चर्चा भएको थियो। सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनका आधारमा शेर्पालाई निलम्बन गर्नुपर्ने सुझाव दिएका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले विषय सामान्य भएको भन्दै शेर्पालाई निलम्बन नगर्ने अडान लिएका थिए।

राजनीतिक यात्रा हेर्दा, अशोक राईसँग छुटिएपछि शेर्पा डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए। त्यसपछि माओवादी केन्द्र हुँदै एमालेमा प्रवेश गरेका हुन्।