खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : हवाई उडान सुचारु

  • प्रकाशित मिति : २०८२ कार्तिक २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएका हवाई उडान सुचारु भएको छ ।

शनिबार साँझदेखि हवाई उडानहरूमा अवरोध सिर्जना भए । यसका कारण काठमाडौँ आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका थिए ।



विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार आज साँझ ५ः ३० बजेदेखि रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको हो । तर अहिले समस्या समाधान गरिएको छ । लाइटको समस्याका कारण विमानहरूको अवतरण र उडान दुवै कार्य पूर्ण रूपमा रोकिएका थिए ।

अवरोधका कारण सोल र इन्चेनबाट आउने कोरियन एयरको उडान नम्बर केई ६९५ र दिल्लीबाट आउने स्पाइसजेटको उडान नम्बर एसजी ०४१ रद्द गरिएका थिए ।

त्यस्तै, दोहाबाट आउने कतार एयरवेजको उडान नम्बर क्युआर ६४४ लाई ढाका डाइभर्ट गरिएको थियो भने दुबईबाट आउने फ्लाई दुबईको उडान नम्बर एफजेड १५३७ लखनउमा अवतरण गराइएको थियो । दिल्लीबाट आउने नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २१८ र शारजाहबाट आउने एयर अरेबियाको उडान नम्बर जीनाइन ५३० लाई भने आकाशमै होल्डमा राखिएको थियो ।

उडान ठप्प हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुहरूले ठुलो असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन गरिने शेर्पाले बताए ।