जेन–जी फ्रन्ट जातीय पहिचानवादी कित्तामा, ‘कोशी प्रदेश’को नाम अस्वीकार्य

  • प्रकाशित मिति : २०८२ कार्तिक २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले खोलेको ‘जेन जी फ्रन्ट’ वैचारिकरुपमा जातीय पहिचानवादीहरुसँग निकट रहेको पाइएको छ ।

जातीय पहिचानवादीहरुले विरोध गरिरहेको ‘कोशी’ प्रदेश नामाकरणलाई फ्रन्टले पनि अस्वीकार गर्ने जनाउ यसका अगूवाहरुले दिएका छन्।



जेनजी फ्रन्टले संगठन विस्तारका क्रममा हिजो प्रदेश संयोजकहरु तोकेको थियो । त्यसक्रममा ६ वटा प्रदेशको औपचारिक नाम लिए पनि कोशी प्रदेशको नाम भने उल्लेख गरिएन । कोशीको साटो ‘प्रदेश नम्बर १’ भनेर लेखिएको छ ।

कोशी प्रदेश नामाकरण हुँदा केही जातजातिले विरोध जनाएका थिए । उनीहरुले लामो समय आन्दोलन पनि गरे, जुन पछि मत्थर भयो । त्यसैले संवैधानिक रुपमा स्थापित नाम कोशी प्रदेश नै हो । तर, यसलाई फ्रन्टले मान्यता नदिने एक अगूवाले बताए । उनले भने, ‘हामी पहिचानवादीले उठाएको मुद्दामा सहमत छौं । कोशी प्रदेश नामाकरण स्वीकार्य छैन । त्यही भएर प्रदेश नम्बर १ भनेका हौं ।’

स्थानीय जनता कोशी प्रदेश नामाकरणको पक्षमा नरहेको दावीसमेत उनले गरे ।

‘जनभावना विपरित नामाकरण गरिएको हो । यसलाई सच्याउनुपर्छ भन्नेमा छौं। आवश्यक परे यसका लागि संघर्ष पनि गर्न तयार छौं,’ ती अगूवाले थपे ।