युवा संघलाई ओलीको निर्देशन : ‘प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिनू’

  • प्रकाशित मिति : २०८२ कार्तिक २३, आईतवार
  • नेपाल टेल संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि आन्दोलनमा सडकमा उत्रन युवा संघ नेपाललाई निर्देशन दिएका छन् ।

आइतबार (कात्तिक २३) काठमाडौंमा आयोजित युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले हालको प्रतिनिधिसभा विघटन प्रक्रिया गैरकानुनी र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन्।



‘प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ,’ ओलीले भने, ‘लोकतन्त्रको अपहरण भएको छ । संविधान खारेज भनिएको छैन तर मिचिएको छ।’

उनले देश जलाउनेहरू नै अहिले देश चलाउने स्थितिमा पुगेको आरोप लगाउँदै भने, ‘यो साधारण परिस्थिति होइन । देश जलाउने पनि तिनै, चलाउने पनि तिनै तमासा भइरहेको छ । जलाउनेका पछाडि पनि यिनै देखिएका थिए, चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै देखिएका छन् ।’

अध्यक्ष ओलीले प्रशासनले आन्दोलनका लागि स्वीकृति नदिए पनि परवाह नगरी सडकमा उत्रन निर्देशन दिँदै भने, ‘स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडकमा उत्रिनुस्।’