हयात रिजेन्सीबाट १३३ मजदुर बर्खास्त, आन्दोलनपछि बन्द होटल मर्मतमा

  • प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार
  • नेपाल टेल संवाददाता

जेनजी आन्दोलनका क्रममा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले मर्मतका कारण भन्दै संपूर्ण १३३ जना मजदुरलाई बिदा दिएको छ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पठाएको पत्रमा होटल हाल पूर्ण रूपमा बन्द रहेको र मर्मत–सम्भारका लागि ऋण लिनुपर्ने अवस्था आएको भन्दै सबै कर्मचारीलाई मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन्।



उनका अनुसार, श्रमिक व्यवस्थापनका विषयमा ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष ननिस्केकाले श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम सबै श्रमिकलाई बिदा दिनुपर्ने अवस्था आएको हो।

महाप्रबन्धक कुमारले भनेका छन्, “भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आपराधिक समूह होटलमा प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेका कारण होटल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। मर्मतबिना सञ्चालन सम्भव छैन।”

उनका अनुसार, आगलागीका क्रममा एक विदेशी पाहुनाले ज्यान गुमाएका थिए।

“आगलागीको क्रममा एक विदेशी पाहुनाले ज्यान बचाउन ४ औं तलाबाट हाम्फाल्दा मृत्यु भएको थियो। अन्य अतिथिहरूका लगेज र सामान पनि लुटपाटमा परे, जसले अन्तर्राष्ट्रिय रूपमा होटलको प्रतिष्ठा प्रभावित गरेको छ,” कुमारले पत्रमा उल्लेख गरेका छन्।

कुमारका अनुसार, कोभिड–१९ महामारीपछि आर्थिक रूपमा कमजोर बनेको होटलले पुनः ठूलो क्षति व्यहोर्नु परेको छ। मर्मतका लागि करोडौं रुपैयाँ आवश्यक पर्ने र सो अवधिभर कुनै आम्दानी नहुने भएकाले होटल गम्भीर आर्थिक संकटमा परेको बताइएको छ।