अर्जुन सापकोटाको गीत ‘झलिको’ सार्वजनिक

  • प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत ‘झलिको’ युट्युबमा सार्वजनिक गरेका छन् ।

गीतमा सापकोटासँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर समावेश छ । उनकै संगीत रहेको गीतले छोटो समयमै राम्रो भ्यूज पाएको छ ।



बुधबार दिउँसोसम्म गीतलाई युट्युबमा ३ लाख २० हजारभन्दा बढीपटक हेरिएको छ । टिकटकलगायतका प्लेटफर्ममा पनि गीत रूचाइएको छ ।

गीतको शब्द रचना सन्तोष सापकोटाको हो । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ ।

गीतका शब्दले मायाको कुरा गर्छन् । प्रेम जोडीको भावनालाई यसमा व्यक्त गरिएको छ ।

भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोमा रोचक ढंगले देखाइएको छ ।

परदेश गएको युवा काठको बाकसमा फर्किएको कथा भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ । शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा पनि देखिएका छन् ।

कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् । कास्कीको घान्द्रुकमा छायांकन गरिएको भिडियो निर्देशन विशालले गरेका हुन् ।

मुकेश नेपालीको नृत्य निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक अर्जुनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन् ।

गायक सापकोटाका यसअघि ‘पछ्यौरी लिसियो’, ‘बस्यौ अलक्कै’ लगायतका गीत रूचाइएका छन् ।