नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सर्तसहित महामन्त्रीद्वयलाई चार महिना पार्टी जिम्मा लगाउनुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकमा रिजालले आगामी चार महिना पार्टी चलाउन र टिकट बाँड्ने जिम्मा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिन आग्रह गरेका हुन् ।
‘दुई महामन्त्रीले भन्नुभएको छ । यो अनुहारले चुनाव जित्न सकिँदैन । चार महिना बाँकी छ । तपाईंहरू चुप लागेर बस्नुस् संस्थापनका पदाधिकारी र पूर्व पदाधिकारीहरू । दुई जना महामन्त्रीलाई टिकट बाँड्ने र पार्टी चलाउने जिम्मा दिनुस् । निर्वाचनको परिणाम गज्जब ल्याउनुभयो भयो भने सबैले सलाम गरौँ । उहाँहरूलाई पार्टी जिम्मा लगाऊँ । होइन भने त्यसपछि उहाँहरू बिदा हुनुहुन्छ,’ रिजालले भने, ‘संस्थापनवालाहरू तपाईंहरू डिस्टर्व नगर्नुस्, छोड्नुस्, चुप लागेर बस्नुस् ।’
रिजालले पूर्वपदाधिकारीहरूलाई किचकिच नगर्न आग्रह गरे । ‘किन किचकिच गर्ने ? यसरी चुनाव लड्नुहुन्छ ? चुनाव लड्ने ढंग हो यो ? तपाईंहरू सक्नुहुन्न । उहाँहरूले बुझ्नुभएको छ नि त । मैले साँच्चै भनेको हुँ । संसदीय समितिको जिम्मा नै उहाँहरूलाई दिऊँ । चार महिना विश्वास गरौँ,’ रिजालले भने ।
उनले संस्थापनलाई पेलेर वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउन नभए विशेष महाधिवेशन स्वीकार्न पनि चुनौती दिए । ‘संस्थापन भन्ने साथीहरूलाई पुसमा महाधिवेशन गर्छौं भनेर झुट नबोल्न आग्रह गर्छु । पुसमा गर्ने नियत नराख्ने अनि मिति मात्रै घोषणा गर्छु भनेर हुँदैन । हिम्मत र संख्या छ भने वैशाखमा गर्नुस् । हामी सक्यौँ भने विशेष महाधिवेशनमा दबाब दिन्छौँ,’ रिजालले भने, ‘यो पार्टी यसरी चुनाव लड्दैन । ४५ सय महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर एउटा प्रक्रिया पूरा गरौँ । विशेष महाधिवेशनको प्रक्रियामा प्रवेश गर्दैनौँ भन्न पाइँदैन । नियमित अर्को वर्ष गर्छु भन्न पाउनुहुन्छ । तर विशेषको प्रक्रिया प्रारम्भ गर्नबाट भाग्न पाइँदैन ।’