बिहार चुनावको प्रारम्भिक नतिजा: एनडिएको अग्रता, नितिश कुमार दसौँ पटक मुख्यमन्त्री बन्ने संकेत

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

बिहार विधानसभाका २४३ वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। अधिकांश क्षेत्रमा बिहान ८ बजेबाट मतगणना शुरू भएको भए पनि केही स्थानमा केही ढिलाइ भएको थियो।

बिहान १० बजेसम्ममा सबै क्षेत्रका प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू) नेतृत्वको एनडिए गठबन्धनले बहुमत कटाइसकेको छ। बहुमतका लागि आवश्यक १२२ सिटभन्दा धेरै १६२ सिटमा एनडिएका उम्मेदवारहरू अग्रता कायम गरिरहेको छ।



जेडियू ७६ सिटमा तथा भाजपा ६९ सिटमा अगाडि छन्। यससँगै जेडियूका अध्यक्ष नितिश कुमार दसभैं पटक बिहारको मुख्यमन्त्री बन्ने लगभग सुनिश्चित भएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

यसपटक महागठबन्धन भने प्रारम्भिक चरणमै पछि परेको छ। राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टी, सीपीआई (माले) र विकासशील इन्सान पार्टीसमेत रहेको महागठबन्धनले ६८ सिटमा अग्रता लिएको छ। तीमध्ये ५० सिटमा आरजेडी र १२ सिटमा कांग्रेस अगाडि छन्।

पहिलोपटक चुनावमा प्रतिस्पर्धा गरेको जनसुराज पार्टी २ सिटमा तथा अन्य दलहरू १२ सिटमा अग्रता बनाइरहेका छन्।

दुवै चरणको मतदान सकिएपछि अधिकांश एक्जिट पोलहरूले यसपालि पनि एनडिए नै बहुमतमा रहने प्रक्षेपण गरेका थिए।