असारमै निकासा भएको रकम दिन भरतपुर महानगरको आनाकानी, बिरामी धुर्मुस यता र उता दौडिँदै

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । चितवन रंगशाला निर्माणका क्रममा लागेको ऋण सल्टाउन सिताराम कट्टेल धुर्मुस ५ वर्षदेखि संघर्षरत छन् । उनले ६० करोड रुपैयाँको संरचना सरकारलाई बुझाए पनि सरकारले १८ करोड ४१ लाख ऋण फर्छ्यौट गरिदिएको छैन ।

संघीय सरकारको यस वर्षको बजेटमै चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि भनेर १५ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट असार मसान्तमा नै अर्थ मन्त्रालयबाट भरतपुर महानगरमा निकासा गरियो । तर, महानगरले विभिन्न खोचे थापेर धुर्मुसलाई झुलाइरहेको छ ।



सरकारको निर्णय बमोजिम पुल्चोक इन्जिनियरिङ क्याम्पसले रंगशाला निर्माणको प्राविधिक मूल्यांकन समेत गरेर प्रतिवेदन बुझाइसकेको छ । रंगशालामा गरिएको यो पाँचौं छानबिन हो । अहिलेसम्म कुनै पनि छानबिनले कुनै अनियमितता देखाएका छैनन् ।

पुल्चोकको मूल्यांकन अनुसार धुर्मुस सुन्तली फाउन्डेसनबाट करिब ६० करोड रुपैयाँको संरचना भरतपुर महानगरको स्वामित्वमा आएको देखिन्छ । तर महानगरले रंगशालाको स्वामित्व स्वीकारे पनि ऋण/उधारो भने सकारेको छैन । संघीय सरकारबाटै प्राप्त भएको अनुदान पनि फाउन्डेसनलाई दिन आनाकानी गरिरहेको छ ।

पुल्चोकले मूल्यांकन प्रतिवेदन दिएपछि महानगरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले रकम निकासाका लागि अर्थको चिठी चाहिने शर्त राखेका थिए । धुर्मुस आफैँले काठमाडौं आएर अर्थ मन्त्रालयबाट चिठी बनाएर लगे । तर, प्रशासकीय अधिकृत पौडेलले फेरि खेलकुद मन्त्रालयको राय सुझाव चाहिने भनेर अर्को अड्को थापेका छ । धुर्मुस फेरि खेलकुदको राय सुझाव लिन आफैँ काठमाडौं आएका छन् । उनले आज खेलकुदमन्त्री बब्लु गुप्तालाई भेटेर पत्र दिए ।

५ वर्षदेखि निरन्तर सरकारी अड्डा र अदालतको चक्कर लगाइरहेका धुर्मुसको शारीरिक र मानसिक अवस्था ठिक छैन । उनलाई केही समयदेखि एन्जाइटी र डिप्रेसनले गाँजेको छ । डाक्टरको औषधिदेखि प्राकृतिक चिकित्सा र अकुंपन्चरसम्मको उपचार गराइरहेका छन् । उपचारकै बीच यता र उता दौडिनु परिरहेको छ ।

आज बिहान उनी उपचारका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगेका थिए । त्यहाँबाट भरतपुर महानगर गएर फेरि काठमाडौं आएका छन् । काठमाडौंबाट खेलकुदको पत्र लिएर फेरि भरतपुर धाउनुपर्ने छ ।