निर्वाचन आयोगले थप्यो ५ दिन समय: अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता खुला

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ। आयोगले पाँच दिन समय थप्दै अब मंसिर ५ गतेसम्म दर्ता प्रक्रिया खुला रहने व्यवस्था मिलाएको हो।

यसअघि कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरिएको थियो। तर, नयाँ व्यवस्थापछि समय थपिएको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेससँग बताएका छन्।



बिहीबार बिहानदेखि राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीका लागि घरबाटै अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने प्रणाली सुरु भएपछि आयोगको सर्वरमा समस्या आएर अनलाइन दर्ता कार्य प्रभावित भएको बताइएको छ।

नयाँ प्रणालीअनुसार राष्ट्रिय परिचयपत्र नम्बर राख्ने व्यक्तिले आयोगको वेबसाइटमा गएर आफ्नो परिचयपत्र नम्बर र जन्ममिति प्रविष्टि गर्नासाथ व्यक्तिगत तथा जैविक विवरण (बायोमेट्रिक) प्रणालीमै प्राप्त हुनेछन्। यसरी दर्ता गर्ने सेवाग्राहीलाई निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

तर, राष्ट्रिय परिचयपत्र नम्बर नभएकाहरूले भने अनलाइनमार्फत विवरण भरेर तोकिएको मितिमा नजिकको निर्वाचन कार्यालयमा उपस्थित भई फोटो र औँठाछाप दिएपछि दर्ता प्रक्रिया पूरा हुनेछ।

आयोगका अनुसार यस व्यवस्थाले कार्यालयमा हुने भीड घटाउने, सेवाग्राहीलाई सहज र छिटो सेवा दिने तथा सबै योग्य नागरिकलाई समयमै मतदाता बनाउने लक्ष्य पूरा हुने अपेक्षा गरिएको छ।

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशभर मतदाता नामावली दर्ता अभियान तीव्र रूपमा अगाडि बढिरहेको आयोगले जनाएको छ।